गोदावरीको फोहोरमैला व्यवस्थापन केन्द्र फागुनमै सञ्चालनमा ल्याउने तयारी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । केन्द्र निर्माणको काम सम्पन्न भएको र फागुनमै सञ्चालनमा ल्याउने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ ।

केन्द्रका अपरेशन इन्चार्ज हेम प्रसाद आर्चायले नगरपालिकासंग समन्वय गरि केन्द्र फागुन महिनामै सञ्चालनमा ल्याउने तयारी गरिएको बताएका छन् । केन्द्रको भौतिक प्रगति सम्पन्न भईसकेको उनले बताए ।

nisarga

सञ्चालनको लागि माथिल्लो निकायबाट अनुमति आउन मात्रै बाँकी रहेकोले यो महिना (फागुन)भित्रै अनुमति लिएर सञ्चालन गर्ने तयारी रहेको उनको भनाई छ ।

एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भ्याटसहित ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँको लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेकोे हो ।

चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो । ०७९ असोजमा निर्माण सम्झौता भएको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सक्नुपर्ने अवधि गत असोजसम्म थियो ।

केन्द्रमा साढे दुई किलोमिटर पहुँच मार्गको निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्नेछ भने त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ । व्यवस्थापन केन्द्र सञ्चालनमा आएमा करिब ४० देखि ४५ जनाले रोजगारी पाउनेछन् ।

नगरपालिकाको फोहोर व्यवस्थापन सुपरभाइजर प्रमल महराका अनुसार गोदावरी नगरपालिका क्षेत्रबाट अहिले दैनिक करिब साढे ६ टन फोहोरमैला संकलन हुने गरेको छ ।

नगरका १२ वटा वडामध्ये नौ वटा वडाबाट मातृभूमि संरक्षण प्रालिले दैनिक र साप्ताहिक रूपमा फोहोर संकलन गर्ने गरेको छ । हाल संकलित फोहोरलाई मालाखेती सामुदायिक वनभित्र गोदावरी नदीले कटान गरेको क्षेत्रमा व्यवस्थापन गर्ने गरिएको सुपरभाइजर महराले बताए ।

फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोतसमेत बन्ने महराको भनाई छ ।

कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिनेछ । संकलित फोहोरमैलाबाट अहिले पनि कम्पनीले केहि मात्रामा आम्दानी गर्ने गरेको छ ।