अत्तरिया – लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि प्रादेशिक गोष्ठी सम्पन्न भएको छ । बुधबार (आज) धनगढीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्की विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कार्कीले कानुन कार्यान्वयनको पक्षलाई पनि बलियो बनाउनु पर्ने धारणा राखे ।
कानुन निर्माण गरिसकेपछि कार्यान्वयन र कानुनी साक्षरताको अवस्थालाई मध्यनजर गर्नुपर्ने उनले बताए । त्यस्तै उपसचिव सिंहले पनि राज्यमा निर्माण गरिएका कानुनलाई जनस्तरसम्म पुर्याउन सकेमा सकरात्मक नतिजा आउने बताए ।
कानुन बनाउने व्यक्तिले सबै स्तरका नागरिकलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने उनको भनाई थियो । अनेक प्रयासका बाबजुत पनि लैङ्गिक हिंसा न्यूनिकरण हुन नसक्नु दुखद पक्ष भएको उनले बताए ।
गोष्ठिमा विभिन्न स्थानीय तहका सम्बन्धित कर्मचारी,मानव अधिकार कर्मी, सञ्चारकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सहभागिहरुले मस्योदामाथि छलफल गर्दै मन्त्रालयलाई विभिन्न सुझाव समेत दिएका छन् । विभिन्न गैर सरकारी संस्थाहरु संगको सहकार्यमा सञ्चालन गरिएको उक्त गोष्ठिमा सामाजिक विकास मन्त्रालयकी वरिष्ठ महिला विकास अधिकृत जयन्ती गिरीले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।