
अत्तरिया – स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियाको चौथो चरण अन्तरगत देशभरिका स्थानीय तहहरुले जेठ १५ गते भित्र वडा तहमा योजनाको छनौट तथा प्राथमिकिकरण गरि सक्नु पर्दछ ।
सोहि अनुसार कैलालीको गोदावरी नगरपालिकाले पनि जेठ १ गतेदेखि नै वडा भेला सुरु गरेको छ । साँझ र बिहान गरि जेठ ७ गतेभित्र नै वडा भेला सम्पन्न गरिसक्ने नगरपालिकाको कार्यतालिका छ ।

मेयर, उपमेयर, वडा अध्यक्ष लगायतका जननिर्वाचित प्रतिनिधिका लागि वडाबासीका समस्या र गुनासा सुन्ने राम्रो अवसर पनि हो वडा भेला ।
तर गोदावरी नगरपालिकाकी उपमेयर शारदा देवी रोकायाको प्राथमिकतामा भने वडा भेलाभन्दा गैर सरकारी संस्थाका कार्यक्रमहरु पर्न थालेका छन् ।
वडा नम्बर १ र २ को भेलामा सहभागी भएकी रोकाया वडा नम्बर ३ को भेला चलिरहँदा संस्थाको कार्यक्रम भन्दै धनगढी थिइन् भने वडा नम्बर ४ को भेलामा पनि संस्थाकै कार्यक्रमबाट अन्तिम समयमा मात्रै उपस्थित भएकी थिइन् ।
त्यस्तै शुक्रबार वडा नम्बर ५ को भेलामा उद्घाटन सकिने बित्तिकै संस्थाको कार्यक्रममा जाने भन्दै उनी निस्किएकी थिइन् ।
भर्खरै निति तथा कार्यक्रम पढ्न सुरु गरेका वडा अध्यक्ष सुद्धिराम चौधरीले उपमेयरलाई बिदाई गरिदिन कर्मचारीलाई रोस्टमबाटै आग्रह गरेका थिए ।
निति तथा कार्यक्रमप्रति वडाबासीको धारणा नसुनेरै निस्किएपछि भेलामा उपमेयरको खोजी पनि भएको थियो ।