
अत्तरिया – सुत्केरी व्यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो ।
महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यहाँ पुगेकी प्रहरी जवान चन्द्रिका देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’
उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो आज बिहान ९ बजेतिरको घटना रहेको उनले बताइन् ।
त्यपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले बताइन् ।
















