
अत्तरिया – गोदावरी नगरपालिका–१२ मा रहेको दुर्गा माध्यमिक विद्यालय, कोल्मुडा प्राङ्गणमा लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणमा केन्द्रित दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ । अत्तरिया विकास मञ्च नेपालले आयोजना र इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक विकृति र विसङ्गति विरुद्ध सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै अगाडि भने, “लागू औषध, मध्यपान र बालविवाहजस्ता समस्याले हाम्रो भविष्य निर्माण गर्ने पुस्तालाई नै संकटमा पारिरहेको छ । विद्यार्थी तथा युवालाई यस्ता कुलतबाट जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका भित्र लागुऔषधको पहुँच बढ्नुमा खुला सीमा तथा जनसंख्याको चाप प्रमुख कारण रहेको उल्लेख गरे । “कैलालीका १३ वटै पालिकाभन्दा पनि गोदावरीमा सीमावर्ती क्षेत्र खुल्ला भएकाले दुव्र्यसनको जोखिम बढी छ,” मेयर भट्टले भने ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले तालिमका सहभागीलाई भने, “एक जना प्रहरीले मात्रै समाज सुधार्न सक्दैन । सबै गाउँ–बस्तीका जनताले सहकार्य नगरी समस्याको समाधान सम्भव छैन ।”
उनले दुव्र्यसनको रोकथामका लागि परिवार, विद्यालय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । तालिमका क्रममा वक्ताहरूले विद्यालय र परिवारको भूमिकामाथि पनि चर्चा गरे । “छोराछोरी स्कुलबाट समयमा फर्किए वा फर्किएनन् भन्ने कुरासमेत ध्यान दिन जरुरी छ,” उनले भने । कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, अभिभावक, विद्यालयका प्रतिनिधि, शिक्षक तथा सामुदायिक अगुवाहरूको सहभागिता रहेको छ ।