विकासमा लगानीका लागि शान्ति र स्थिरता जरुरी : आरजु राणा

Image
maya metro

अत्तरिया – परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले विकास र लगानीका लागि शान्ति र स्थिरता आवश्यक रहेको बताएकी छन । उनले सरकार विकास र आर्थिक समृद्धि हासिल गर्न क्रियाशील रहेको बताईन ।

बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले सुशासन, राजनैतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार गठन भएको र त्यसका लागि प्रमुख दुई दल काँग्रेस र एमाले प्रतिबद्ध रहेको बताईन ।

nisarga

सुदूरपश्चिम प्रदेशमा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री राणाले लगानी सम्मेलनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीको वातावरण सृजना गर्ने बताईन । उनले एकीकृत विकास प्रणालीको विकास गरि अघि बढ्नुपर्ने बताईन ।

सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासको प्रतिफल आउने गरि लगानी प्रवाह गरिनुपर्ने बताए । उनले सुदूरपश्चिममा आन्तरिक र बाह्य लगानी भित्रयाउन सम्मेलनले सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटन विकासलाई वन क्षेत्रसँग जोडेर लैजानुपर्ने बताए । उनले आफू त्यसैतर्फ केन्द्रित भएर अघि बढिरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागिएको बताए । त्यसैको लागि तयारी सम्मेलन गरिएको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित तयारी सम्मेलनमा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, दातृ निकायका प्रतिनिधि, लगानी बोर्ड तथा नीति तथा योजना आयोगका पदाधिकारी, सरोकारवाला निकाय, विज्ञ लगायतको सहभागिता रहेको थियो ।