
तर स्कुटरको पछाडि बसेकी शाहले भने स्कुटर रोकेको भन्दै प्रहरीसँग सवालजवाफ गरेको भिडिओमा देखिन्छ । प्रहरीका सई यज्ञराज पन्तलाई ‘तँ’ भन्दै गालीगलौज सुरु भएको थियो । त्यसपछि ती महिलाले आफूसँग लाइसेन्स र ब्लु बुकसमेत रहेको बताउँछिन् । किन रोकेको ? भन्दै प्रहरीसँग सवालजवाफ गरेकी उनलाई प्रहरीले भने लाइसेन्स नभएका बालकलाई स्कुटर किन चलाउन दिएको भन्दै प्रश्न गर्छन् ।
बालकले पनि स्कुटर आफैंले चलाएको बताउँछन् । यो विवाद भइरहेका बेला प्रहरीले आफ्नो मोबाइलबाट भिडिओ समेत बनाएको देखिन्छ । सोही क्रममा ती महिलाले मोबाइल भुईँमा खसाएजस्तो देखिन्छ । प्रहरीले पनि ती महिलाले मोबाइल खसाली दिएको बताएको छ । त्यसपछि दुवै पक्ष आक्रोशित हुँदा हात हालाहाल गरेको भिडिओमा देखिन्छ ।
सुरुवाती क्रममा महिलाको गल्ती देखिए पनि हात हाल्नु भने प्रहरीको गल्ती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनाबारे यर्थाथ बुझ्ने काम भइरहेको कैलालीका एसपी बालनर सिंह राणाले बताए । ‘घटनाबारे जानकारी पाएसँगै छानबिन अघि बढाएका छौं । क–कसो भएको हो । कसको गल्ती हो भन्ने कुरा छानबिन पछि नै आउला,’ एसपी राणाले भने ।
















