प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भने : चीन-भारत लिपुलेक व्यापार सहमति आपत्तिजनक

Image
maya metro

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै दुईपक्षीय व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाएका छन् । चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको दुई पक्षीय भेटका क्रममा प्रधानमन्त्री ओलीले भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिलाई नेपाली भूमि भएर भारत र चीनबीच भएको सहमति आपत्तिजनक भएको बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी गराएका हुन् । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको छ,’ परराष्ट्र सचिव राईको भनाइ उदृत गर्दै प्रधानमन्त्री ओलीको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

nisarga

प्रधानमन्त्रीले भेटका क्रममा सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालका भएको स्पष्ट पारेको उल्लेख गरेका थिए । ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ,’ ओलीले भनेका थिए ।

ओली र चिनफिङबीचको भेटवार्ता सौहार्दपूर्ण रहेको बताइएको छ । द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको बताइएको छ ।

भदौ २ र ३ गते चिनियाँ विदेशमन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए । त्यस क्रममा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग दुई देशबीच व्यापार लगायतका विभिन्न समझदारी गरेकामा नेपाली भूमि लिपुलेक हुँदै द्विपक्षीय व्यापार गर्ने विषय उल्लेख थियो । यस विषयमा नेपालले असहमति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको छ भने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूमि रहेको समेत स्पष्ट पारेको थियो ।