
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी गरेका छन्। शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन्।
गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनले बताए । लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको धारणा राखे।

जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । उनले अहिलेको अवस्थामा उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्न जरुरी रहेको जिकिर गरे।
उनले राज्यका सबै निकायहरु कानुनसम्मत रुपमा चल्नुपर्नेमा जोड दिए । लेखकले आन्दोलनको छानविन गर्न आयोग गठन गरेको अवस्थामा मुलुकको संविधान र कानूनबमोजिम आयोगले काम गर्ने विश्वास व्यक्त गरे।















