शीतलहरका कारण जनजीवन प्रभावित,एक-दुई दिन कायमै रहने

Image
maya metro

काठमाडौं – तराईका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् ।

पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराईका जिल्लाहरुमा कतिपय विद्यालय बन्द गरिएको छ।

nisarga

अहिले तराईका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक-दुई दिन कायमै रहने पूर्वानुमान गरिएको छ। बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुने मौसमविदले बताएका छन् ।

मौसमविदहरुका अनुसार यो वर्षको जाडो भर्खरै सुरु भएको छ । अझै केही दिन जाडो बढ्नसक्ने भएकाले पूर्व सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कमजोर खालको पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहेकाले तत्काल हिउँ पर्ने र पानी पर्ने सम्भावना पनि छैन । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा गत वर्षको तुलनामा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।

पानी नपर्दा वायुमण्डलमा धुलोका कण मिसिएको बाक्लो तुवाँलो लागेको छ । प्रदूषणयुक्त तुवाँलो हट्न पानी पर्नुपर्ने वा वायुको गति बढी हुनुपर्ने हुन्छ । तर यी दुवै सम्भावना अहिले तत्काल नरहेकाले प्रदूषण बढेको छ । त्यसैले मास्क लगाएर मात्र घर बाहिर निस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।