डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

Image
maya metro

डडेलधुरा – सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेलधुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेलधुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ ।

१९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै दरबन्दीअनुसार स्थायी छन् भने नौजना छात्रवृत्तिका चिकित्सक हुन् ।

nisarga

दरबन्दी अनुसारका विषय विशेषज्ञ चिकित्सक नहुँदा यस क्षेत्रका बिरामीहरूलाई उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ ।

अठार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल तीनजना मात्रै मेडिकल अधिकृत छन् । यसअघि आठजना मेडिकल अधिकृत थिए । उनीहरू छात्रवृत्तिबाट अध्ययन सकेर आएका थिए । उनीहरू दुई वर्ष काम गरेर गए । अठार जना मेडिकल अधिकृतमध्ये तीनजना मात्रै हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा चेतराज भट्टले बताए ।

अहिले अस्पतालमा फिजिसियन एक, हाडजोर्नी विशेषज्ञ दुई, बालरोग विशेषज्ञ दुई, एमडिजिपी एक, जनरल सर्जन दुई, रेडियोलोजिष्ट एक, नाककान घाँटी रोग विशेषज्ञ एक, एनएसथिसियोलोजिष्ट एक, ल्याब एक गरी १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा भट्टले जानकारी दिए । अझै दरबन्दीअनुसार सातजना विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए ।

अस्पतालमा ३५ जना नर्स भए पनि हाल १० जना सुत्केरी बिदामा बस्दा वार्डमा समस्या छ । एक सय शय्या रहेको अस्पतलामा आइसियु, एनआइसियु, सर्जिकल वार्ड, जेनेरल वार्ड, इमरजेन्सीलगायतका वार्डहरू सञ्चालनमा रहेका छन् । एउटा वार्डमा पाँचजना नर्स खटाउँदा पनि ३० जना खटिनुपर्छ । अहिले १० जना नर्स बिदामा बस्दा उपचार र बिरामीको हेरचाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयसँग बारम्बार दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको माग गरे पनि पूर्ति हुन नसकेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । छात्रवृत्तिमा आउने चिकित्सकहरू पनि एक वर्ष बस्ने र त्यसपछि बिदामा बस्ने, अरू अस्पतालमा दरबन्दी मिलाई जाने गरेका कारण अस्पतालमा जहिल्यै जनशक्ति अभाव हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । अस्पतालमा दक्ष जनशक्ति नहुँदा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेको छ ।

रासस