कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटनमात्र उत्पादन भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चार लाख ९० हजार ३९६ मेट्रिकटन धान उत्पादन कम भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । गण्डकी प्रदेशमा २.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने अन्य ६ प्रदेशमा उत्पादन घटेको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिममा गत वर्षको तुलनामा ३१.४९ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । यस्तै, लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, बागमती प्रदेशमा ०.३५ र कर्णालीमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको छ ।
मन्त्रालयका अनुसार पाँच वर्ष यता यो वर्ष सबभन्दा कम धान उत्पादन भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने २०७५÷०७६ मा ५६ लाख १० हजार ११ मेट्रिकटन, २०७४÷०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन र २०७३÷०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
बेमौसमी वर्षाले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर तथा लुम्बिनी प्रदेशको बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा विदेशबाट वार्षिक करिब २९ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात हुने गरेको छ । यो वर्ष धान उत्पादन घटेकाले चामलको आयात झन् बढ्ने देखिन्छ ।