
अत्तरिया – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर देशको नाम चिनाउन सफल एक खेलाडीले सडक दुर्घटनापश्चात गैरजिम्मेवार हर्कत देखाएका छन् । सशस्त्र प्रहरी बलमा कार्यरत कराते खेलाडी, विभिन्न प्रतियोगितामा पदक जितिसकेका कैलालीको चुरे गाउँपालिका-६ का १९ वर्षीय प्रदीप बैजाली मगरले सडक दुर्घटनामा एक वृद्धालाई ठक्कर दिएर घाइते अवस्थामा छाड्दै फरार भएका हुन् ।
गत कात्तिक १ गते बेलुकीको समयमा कैलालीको गोदावरी नगरपालिका–८, खुुटिया नदीमा गीट्टी कुटेर फर्किदै गरेकी स्थानीय ६२ वर्षीया तारा धामीलाई मगरले चलाएको बा६९प४२६९ मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी धामीलाई घटनास्थलमै छाडेर उनी फरार भए ।

सम्बन्धित समाचार: खुटियामा महिलालाई ठक्कर दिएर मोटरसाइकल चालक फरार
दुर्घटनापछि घाइते वृद्धालाई तत्काल उद्धार तथा उपचारको आवश्यकता थियो। तर, दुर्घटनामा संलग्न व्यक्ति भने घटनास्थलबाटै सम्पर्कविहीन बने। त्यतिमात्रै होइन उनले कार्तिक ४ गते धुमधामसंग दशैँ मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा पोस्ट्याए । यदि आफूलाई घटनास्थलमा असुरक्षित महसुस भएको भए पनि नजिकैको प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराउन सकिने विकल्प मगरसंग थियो।
तर, घाइतेको अवस्थाबारे चासो नदिई घटनास्थल छाडेर हिँड्नु आफैँमा गैरजिम्मेवार व्यवहार भएको स्थानीय सुरज ओझा बताउँछन् । घटनापछि फरार रहेका मगरलाई करिब २० दिनपछि अर्थात् कात्तिक २१ गते काठमाडौंमा इलाका प्रहरी कार्यालय मालाखेतीको (इप्रका )टोलीले पक्राउ गरेको छ।
सम्बन्धित समाचार: पूर्वपश्चिम राजमार्गमा आधा घण्टा चक्काजाम
प्रहरीकाअनुसार मगरलाई हलचोकस्थित सशस्त्र प्रहरीको हेटक्वाटरबाट इप्रका मालाखेतीको टोलीले नियन्त्रणमा लिइएको हो । उनलाई हेटक्वाटरबाट इप्रका मालाखेतीका प्रहरी नायब निरीक्षक(सई) नवराज पाण्डेको टोलीले नियन्त्रणमा लिएको हो ।
महिलालाई ठक्कर दिएर घटनाबाट उम्किन कैलालीबाट काठमाडौं पुगेका कराते खेलाडी मगर अन्ततः प्रहरीको सफल अनुसन्धानपछि कानुनी कारवाहीको दायरामा आएका छन्। उनलाई पत्ता लगाउन प्रहरीले निकै सघन र सुक्ष्म अनुसन्धान गर्नु परेको जनाएको छ । मगरले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको प्रतिनिधित्व गरिसकेका छन्।
सम्बन्धित समाचार: वृद्धालाई ठक्कर दिएर फरार भएका एपीएफका राष्ट्रिय कराँते खेलाडी पक्राउ
खेलकुदमार्फत देशको प्रतिष्ठा बढाउने व्यक्तिबाट नागरिकको जीवनसँग जोडिएको यस्तो संवेदनशील घटनामा जिम्मेवारीबाट पन्छिने व्यवहार देखिनु दुखद भएको स्थानीय करन बोगटीको भनाई छ ।
‘अझ सुरक्षा निकायमा आबद्ध व्यक्तिले त कानुन र नागरिकप्रतिको दायित्वलाई थप गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ’, बोगटीले भने। यता दुर्घटनामा घाइते भएकी तारा धामी अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।






























