
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– २ मा रहेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनीवार (आज) संस्थाका अध्यक्ष दिपकराज ओझाको सभा अध्यक्षता तथा शेयर सदस्य पुष्कर शर्मा जोशीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ओझाले गत असार मसान्तसम्म १७ लाख ७७ हजार ९ सय रुपैँया शेयर पुँजी पुगेको बताए । त्यस्तै बचततर्फ १करोड २६ लाख ४५ हजार १०१ रुपैँया र लगानीतर्फ १ करोड १६ लाख ८८ हजार ४१२ रुपैँया रहेको ओझाले बताए ।

गत आर्थिक वर्ष २०८१ ८२ मा संस्थाले ४२ हजार ६२५ रुपैँया खुद नाफा आर्जन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले जेनजी युवाहरुले सञ्चालन गरेको सहकारीले इमान्दारीतामा साथ समाजमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताए।
उनले कोरोना संक्रमण, प्राकृतिक विपद्जस्ता चपेटामा देश परेर आर्थिक मन्दी खेपीरहेको समयमा समेत स्थापना भएको छोटो समयमै पनि सहकारीले उल्लेख्य कारोबार गर्न सफल भएको बताए ।
सामाजिक संस्था थ्रीडिभीएल क्रियसनमा आवद्ध युवाहरुले स्थापना गरेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाले युवाहरुलाई स्वरोजगार बनाउने मुख्य लक्ष्य राखेको छ।
साधारण सभामा संस्थाका विभिन्न बचत समूहहरु त्था समाजमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारण सभामा उपस्थित शेयर सदस्य तथा अतिथिहरुलाई संस्थाले मायाको चिनोको रुपमा सुदूरपश्चिमका विभिन्न शक्तिपिठहरुको फ्रेमिङ तस्वीर प्रदान गरिएको थियो ।
५ वर्षअघि ३० जना सेयर सदस्यहरु बाट सुरु भएको संस्थामा हाल २३० जना शेयर सदस्यहरु आबद्ध रहेको संस्थाले जनाएको छ । संस्थाकी उपाध्यक्ष खगेश्वरी पाण्डेयको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा अधिकृत देवराज भण्डारीले गरेका थिए ।
सभामा लेखा समितिका सदस्य दिपकराज भट्टले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए भने व्यवस्थाका डबल साउँदले आगामी योजनाबारे जानकारी गराएका थिए ।















