‘नृत्य मञ्च–२०८३’ को विजेता बनिन् गोदावरी पब्लिक स्कुलकी इशीका पूजारा

Image
maya metro

अत्तरिया – ‘प्रतिभाको सम्मान, नृत्यको पहिचान’ भन्ने मूल नाराका साथ कैलालीको अत्तरियामा सञ्चालन भइरहेको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च–२०८३’ को विजेता गोदावरी पब्लिक स्कुलकी विद्यार्थी इशीका पूजारा बनेकी छन् ।

करिब दुई महिनादेखि सञ्चालन भइरहेको प्रतियोगिताको शनिबार सम्पन्न ग्रान्ड फाइनलमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै पूजारा विजेता बनेकी हुन् । उनले नगद २० हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् ।

nisarga

प्रतियोगितामा सत्यवती एकेडेमीकी विद्यार्थी रिजुम बीक द्वितीय भएकी छन् । उनले नगद १५ हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, पुष्पाञ्जलि आवासीय विद्यालयका विद्यार्थी प्रितम बोहरा तृतीय भए । उनले नगद १० हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा अडिसन, मेगा, कोरियोग्राफी, क्वार्टरफाइनल र सेमिफाइनल चरण पार गर्दै १२ जना प्रतिस्पर्धी ग्रान्ड फाइनलमा पुगेका थिए ।

द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विद्यालय तहमा रहेका नृत्य प्रतिभाको पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले बताए ।