
धनगढी – ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित धनगढीमा ३५औँ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा बुधबार (नोभेम्बर २५) देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानको सुरुवात प्रभातफेरी कार्यक्रममार्फत गरिएको हो।

ट्राफिक चौराहबाट सुरु भएको प्रभातफेरी जेन्जी मार्गमा पुगेर समापन गरिएको थियो। प्रभातफेरीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, सुरक्षाकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्ने, हिंसापीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने र हिंसाजन्य घटनामा हुने दण्डहीनताको अन्त्यका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ।
धनगढी उपमहानगरपालिकाले पनि अभियान अवधिभर विभिन्न सचेतनामूलक कार्यक्रममार्फत लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि पहल गर्ने जनाएको छ।


















