स्वास्थ्य महोत्सव सकियो, तर यसको उद्देश्य सकिनु हुँदैन

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रलाई नागरिकसँग जोड्ने उद्देश्यसहित कैलालीको अत्तरियामा आयोजना गरिएको स्वास्थ्य युवा महोत्सवको समापन भएको छ। मंसिर २ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेको महोत्सवको आइतबार समापन गरिएको हो। समापन कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले महोत्सव औपचारिक रूपमा सकिए पनि यसले बोकेको उद्देश्य र अभियान भने निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सामान्यतया महोत्सव भन्नेबित्तिकै गीतसंगीत, मनोरञ्जन, रङ्गीचङ्गी मञ्च र व्यापारिक गतिविधि सम्झिने गरिन्छ। तर अत्तरियामा आयोजित स्वास्थ्य महोत्सवले महोत्सवको परम्परागत परिभाषालाई फरक ढङ्गले प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ। मनोरञ्जनभन्दा नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले स्वास्थ्यसम्बन्धी जानकारी, सचेतना र सेवा प्रवाहलाई एउटै थलोमा जोडेको भन्दै वक्ताहरूले आयोजकको प्रशंसा गरेका छन्।

nisarga

सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र कैलाली चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश युवा चेम्बर अफ कमर्स र समृद्ध गोदावरी अभियानको संयुक्त प्रयासमा आयोजित महोत्सवलाई वक्ताहरूले निजी क्षेत्रबाट भएको उदाहरणीय कार्यका रूपमा व्याख्या गरेका छन्। उनीहरूले सरकारी निकायले प्राथमिकतामा राखेर सञ्चालन गर्नुपर्ने यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रम निजी क्षेत्रले अगाडि बढाउनु सकारात्मक भएको बताएका छन्।

समापन समारोहका प्रमुख अतिथि एवं गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले महोत्सवको उदेश्य उत्कृष्ट भएको बताए । सरकारी स्तरबाट हुनुपर्ने जनहितका कार्यक्रम निजी क्षेत्रले आयोजना गर्नु खुसीको विषय भएको उल्लेख गर्दै उनले यस्ता अभियानले नागरिकको स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरीक्षक सन्तोष पाण्डेले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने महत्त्वपूर्ण काम निजी क्षेत्रले अगाडि बढाएकोमा प्रशंसा गरे। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न सधैँ तत्पर रहेको उनको भनाइ थियो।

मानिसको स्वास्थ्य नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै पाण्डेले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आफ्ना स्वास्थ्य इकाइ, स्थानीय तथा संघीय सरकार र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेको बताए। स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्राध्यापक डा. सुवेशराज कायस्थले पनि व्यक्तिले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले चेम्बर अफ कमर्सले गरेको प्रयासको प्रशंसा गर्दै उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे।

अत्तरियास्थित पद्मा अस्पतालका प्रबन्धक एवं मालाखेती अस्पतालका अध्यक्ष नरबहादुर मौनीले महोत्सव आज समापन भए पनि यसको वास्तविक काम भने अब सुरु भएको आफूलाई महसुस भएको बताए। महोत्सवले नागरिकमा स्वास्थ्यप्रतिको चासो र सचेतना बढाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमसँग समन्वय र सहकार्य गर्न आफू तयार रहेको बताए। आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

त्यसैगरी सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त प्रकाशले विद्यालय तथा शैक्षिक संस्थाहरू पनि स्वास्थ्य सचेतनासम्बन्धी अभियानमा अग्रसर हुनुपर्ने बताए। यस्ता जनहितका कार्यक्रमलाई विद्यालयले सधैँ सहयोग र सहकार्य गर्ने उनको प्रतिबद्धता थियो।

महोत्सव अवधिभर पाँच हजार २ सय जनाले स्वास्थ्य जाँच गराएएको आयोजकले जनाएको छ । त्यस्तै करिब आठ हजार जनाले महोत्सव अवलोकन गरेको र विभिन्न उमेर समूहका दुई हजार पाँच सय जनाले विविध विधाका प्यानल डिस्कसनमा सहभागीता जनाएको बताइएको छ । २५ जना विज्ञहरुले प्यानल डिस्कसनमा सअभागी भइ आफ्नो ज्ञान, अनुभव तथा सुझाव प्रस्तुत गरेका छन् ।

एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित महोत्सवले नागरिकलाई स्वास्थ्य सेवासँग प्रत्यक्ष जोड्न सहयोग पु¥याएका एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल (अफिन) सुदूरपश्चिमका अध्यक्ष एवम् निर्सग अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रको उपस्थिति बलियो देखिएको भन्दै उनले तिनै तहका सरकारले निजी क्षेत्रसंग समन्वय गर्नुपर्ने बताए । यस महोत्सवले सुरु गरेको स्वास्थ्य सचेतना र नागरिकलाई स्वास्थ्य सेवासँग जोड्ने अभियान निरन्तर चल्नुपर्ने उनले बताए । मनोरञ्जन र व्यापारलाई मात्रै महोत्सवको पहिचान बनाइरहेको वर्तमान समयमा स्वास्थ्यलाई केन्द्रमा राखेर गरिएको यो प्रयासले महोत्सवको उद्देश्य र परिभाषा नै फेर्ने प्रयास गरेको सहभागीहरुको भनाई छ ।