प्रधानमन्त्रीको भारत भ्रमणमा पश्चिम सेती र पञ्चेश्वर आयोजना समेट्न मुख्यमन्त्री भट्टको माग

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा पश्चिम सेती र पञ्चेश्वर आयोजना समेट्न माग गरेका छन्।

कैलालीको अत्तरियामा चेम्बर अफ कमर्सले आयोजना गरेको स्वास्थ्य युवा महोत्सव २०८३ को उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै मुख्यमन्त्री भट्टले पश्चिम सेती र पञ्चेश्वर आयोजना सुदूरपश्चिमवासीको सपना भएकाले प्रधानमन्त्रीको भारत भ्रमणमा यी आयोजनालाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने बताएका हुन्।

nisarga

उनले यी आयोजना अघि बढाउन सके सुदूरपश्चिमको विकासमा ठूलो योगदान पुग्ने उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्रीले भारतसँग आवश्यक पहल गर्नुपर्ने बताए।

यसैगरी मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले मानव स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। दार्चुलाको गोकुलेश्वर अस्पताल र बाजुराको कोल्टी अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने काम अघि बढाइएको उनले जानकारी दिए।

त्यस्तै चालु आर्थिक वर्षमा चारवटा भेन्टिलेटरसहितका एम्बुलेन्स खरिद गर्ने प्रदेश सरकारको योजना रहेको उनले बताए। बैतडीको खोड्पे र डोटीको बुडरमा मिनी ट्रमा सेन्टर सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको पनि उनले बताएका छन् ।

‘पहाडी क्षेत्रमा दुर्घटना हुदा त्यहाँ तत्काल उद्धार नहुदा ज्यानै जाने समस्या थियो त्यसैले हामीले बैतडीको खोड्पे र डोटीको बुडर गरी दुइटा ठाउमा मिनी ट्रमा सेन्टर स्थापना गरी दुर्घटनाबाट हुने मृत्यु, अंगभंग र अपाङ्गताको घटनालाई न्यूनिकरण गर्ने प्रयास गरेका छौं ।, उनले भने ।’

मुख्यमन्त्री भट्टले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। गेटा सुदूरपश्चिमवासीको सपना र भावनासँग जोडिएको विषय भएकाले यसलाई कुनै पनि बहानामा रोक्न नहुने उनले बताए।

‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको सपना र भावना हो। कुनै पनि बहानामा यसको सञ्चालन रोकिनु हुँदैन। कहिले उपकुलपति त कहिले रजिस्ट्रार नियुक्तिको विषय देखाएर विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्नु हुँदैन। यससँग जोडिएका सम्पूर्ण काम तत्काल अघि बढाएर पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ।’, उनले भने ।