
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले मंसिर देखी महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ ।
संघले मंगलबार बजारमा रहेका विभिन्न वस्तुगत क्षेत्रका व्यवसायी प्रतिनिधिहरुसँगको भेलाबाट मंसिर देखी प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष कमल कडायतले बजारका विभिन्न वस्तुगत क्षेत्रका व्यवसायी प्रतिनिधिहरुसँग छलफल गरेर बजार बन्द गर्ने निर्णय गरिएको बताए ।
उनले बैठकबाट बजार बन्द गर्ने निर्णयसँगै बजार बन्दको नियमन तथा अनुगमनसम्बन्धी विषयलाई पनि व्यवस्थित बनाउने निर्णय गरिएको बताए । उनका अनुसार बजार बन्दको नियमन र अनुगमनको विषयमा सम्बन्धीत बस्तुगत संघलाई जिम्मेवारी दिईएको छ ।
बैठकले बजार व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय समेत गरेको छ ।
संघका अध्यक्ष कडायतले ठेलागाडा तथा बजारलाई स्थानिय सरकार तथा सरोकारवालासँगको समन्वयमा व्यवस्थापन गर्ने निर्णय पनि गरिएको बताए । उनले बजार अस्तव्यस्त हुँदा दुर्घटनाको जोखिम बढेको समेत औल्याएका छन् ।
















