
अत्तरिया – करिब २२ वर्षदेखि मानव सेवामा सक्रिय गणेश जिमी साउद सम्मानित भएका छन् ।
कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा बसोबास गर्दै आएका साउँदलाई थ्रिडिभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको हो।
स्वास्थ्य, शिक्षा, अपाङ्गता, असहाय तथा विपन्न नागरिक, दीर्घरोगी, धार्मिक तथा सांस्कृतिक क्षेत्र, रोजगारी र विपद्का कारण समस्यामा परेका व्यक्तिहरूको सहयोगमा साउदले लामो समयदेखि योगदान दिँदै आएका छन् ।
उनले देशका ७७ वटै जिल्लामा मानवीय सेवाका विभिन्न कार्यमा सहयोग र सहकार्य गर्दै आएका छन् ।
निःस्वार्थ मानव सेवा र सामाजिक योगदानको कदर गर्दै शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष दीपक ओझालगायतको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
साउँदको सेवायात्राले समाजमा परोपकार, सहकार्य र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको संस्थाले जनाएको छ।
उनको योगदानले मानवीय सेवामा समर्पित अन्य व्यक्तिहरूलाई समेत प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
















