
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीको आयोजनामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
महाविद्यालयमा बुधबार आयोजित प्रतियोगितामा आयोजक महाविद्यालयले नै प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरले द्धितिय स्थान हासिल गरेको छ भने मेधावी सेकेन्डरी स्कुल कञ्चनपुरले तृतीय स्थान हासिल गरेको छ ।

सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी पवन खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा कैलालीका २१ र कञ्चनपुरका १८ गरी ३९ विद्यालयको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपरथी खत्रीले प्रतियोगितामा विजयी हुनु एउटा अंकको विषय मात्र भएको बताए । उनले प्रतियोगितामा सहभागिता जनाउनु र प्रयास गर्नु महत्त्वपूर्ण भएको बताए ।
उनले प्रतियोगितामा सहभागी सबै विद्यालय तथा विद्यार्थीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
अहिलेको विश्वमा किताबी ज्ञान मात्रै पर्याप्त नहुने भन्दै विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा पनि निपुण हुनु पर्ने उनले बताए ।
त्यस्तै प्रतियोगितामा आफ्नो भनाई राख्दै सैनिक आवासीय महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले कक्षा कोठामा सिकेको ज्ञानलाई प्रस्फुटन गर्न मदत पुगोस् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफूमा भएको ज्ञान र क्षमताको पहिचान गरी अगाडि बढ्न सहयोग पुग्ने अपेक्षा आफूहरूले लिएको बताए ।
महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त (प्रकाश)ले यस्ता अन्तर विद्यालय प्रतियोगिताले विद्यार्थीको ज्ञान र क्षमता परीक्षणसँगै उनीहरूलाई समसामयिक विषयबारे जानकारी हासिल गर्ने अवसर दिने बताए ।
प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्नसमेत सहयोग पुग्ने उनको भनाइ थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई रु १५ हजार, द्धितिय स्थान हासिल गर्ने विद्यालयलाई रु १० हजार र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई रु ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
दुई चरणमा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा पहिलो चरण लिखित परीक्षाबाट उत्कृष्ट ६ विद्यालय छनोट गरिएको थियो भने अन्तिम चरणको प्रतियोगिता प्रविधिमैत्री रूपमा मल्टिमिडियामार्फत सञ्चालन गरिएको थियो ।
सहभागी सबै विद्यालयलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु, विभिन्न सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुसहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।















