
अत्तरिया – बझाङमा अटो रिक्सा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार (आज) बिहान करिब १०:२० बजे बुङ्गल नगरपालिका-१० टुमेडामा अटो रिक्सा दुर्घटना भएको हो ।

टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ हिनगडा बजारतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महरा र ५ वर्षीया रियास महराको मृत्यु भएको हो ।
अटोमा चालकसहित ६ जना सवार रहेकोमा १३ वर्षीय बिक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
अटोचालक बुङ्गल-५ का २५ वर्षीय टेक बहादुर पातली प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























