चाडपर्व सकिएसँगै रित्तिँदै बाजुराका गाउँबस्ती

Image
maya metro

बाजुरा – दसैँ–तिहारमा मानिसले भरिभराउ भएका बाजुराका गाउँबस्ती पुनः रित्तिन थालेका छन् । नेपालीहरुको महान पर्व दसैँ–तिहार मनाउन गाउँ आएका परदेशीहरू चाडपर्व सकिएसँगै आफ्नो कर्मथलो फर्किन थालेपछि यहाँका गाउँबस्ती रित्तिन थालेका हुन् ।

दसैँ मनाउन गत असोजमा गाउँ आएको बताउँदै बुढीनन्दाका स्थानीय गोपाल रोकायाले चाडपर्व सकिएपछि कामको खोजीमा फेरि भारत जान लागेको बताए । उनले भने, “म जहिले पनि यस्तै चाडपर्वको समयमा गाउँ आउने र चाडपर्व सकिएसँगै कामको खोजीमा परदेश जाने गर्छु ।”

nisarga

आफू मात्र नभई यहाँका अन्य दाजुभाइ पनि चाडपर्वका बेला गाउँ आउने र त्यसपछि परदेश जाने गरेको रोकायाले बताए। यहाँका बालबालिका पनि दसैँ–तिहार सकिएसँगै अध्ययनका लागि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँलगायतका सहर जान थालेका छन् ।

दसैँका बेला घर आएका परदेशीहरू कामका लागि फेरि भारत जान थालेपछि गाउँमा अहिले बुढापाका मात्र बाँकी रहेको स्थानीय बताउँछन् । आमा–बुवा कामको खोजीमा परदेश जाने र छोराछोरीलाई पढाइका लागि सहरका सुविधासम्पन्न ठाउँमा पठाउने गरेपछि गाउँमा बुढापाका मात्र रहने गरेका हुन् ।

बेरोजगारीको समस्याका कारण युवाहरू बाहिरिन थालेपछि गाउँका जमिन बाँझो हुँदै गएका छन् । पहिले यहाँका युवा मात्र परदेश जाने गरेकामा अहिले महिलासमेत परदेश जान थालेपछि जमिन दिनप्रतिदिन बाँझो बन्दै गएको स्थानीय बताउँछन् ।

स्थानीय सरकारले दुर्गम गाउँबस्तीमा समेत सडक पुर्‍याएका छन् । घरघरमा खानेपानीको सुविधा विस्तार गरेका छन् । बालबालिकालाई गाउँमै पठनपाठनको व्यवस्था गर्न क्याम्पस तथा प्राविधिक विद्यालयसमेत स्थापना गरेका छन् ।

कृषि कर्म गर्न स्थानीय सरकारले कृषिसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् । तर पनि यहाँका युवाहरू कामको खोजीमा दैनिक भारत जाने क्रम रोकिएको छैन ।

स्थानीय सरकारले युवाका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न नसकेका कारण परदेशिन बाध्य हुनुपरेको त्रिवेणी नगरपालिकाका स्थानीय पदम बुढाले बताए ।

 उनले भने, “तालिम प्राप्त गरेर मात्र केही हुँदैन । त्यसलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सरकारले युवाहरूका लागि विभिन्न अनुदानका कार्यक्रमसमेत ल्याउनुपर्छ ।”

त्यसो भए मात्र यहाँका युवालाई आफूले सिकेको सीपअनुसार व्यवसाय सञ्चालन गर्न सहज हुने बुढाले बताए ।

तिहार सकिएसँगै गाउँबाट बाहिरिनेको सङ्ख्या निकै बढ्दै गएको बाम्का बजारका टिकट काउन्टर इन्चार्ज जनक बुढाले बताए ।

 उनले भने, “यतिबेला बाजुराबाट दैनिक आठ सयभन्दा बढी युवा बाहिरिने गरेका छन् ।”

कोल्टी, मार्तडी, बल्दे, बाम्का बजार, बेतालमाण्डौँ र डाबबजारलगायतका ठाउँबाट दैनिक एक दर्जनभन्दा बढी बस यात्रुले खचाखच हुने गरेको बुढाले बताए ।

त्यसैगरी, कर्णाली करिडोरअन्तर्गत पीलिचौरबाट पनि दैनिक सात वटा गाडीमा दुई सयको हाराहारीमा बाजुराका स्थानीय बाहिरिने गरेको सुर्खेत–बुलबुले–पीलिचौर काउन्टरका इन्चार्ज भुवन शाहीले बताए ।

यता, युवालाई गाउँमै रोक्न ठूलो रकम आवश्यक पर्ने र त्यस्तो रकम स्थानीय सरकारसँग नभएकाले गाउँमै रोजगारी दिन समस्या भएको यहाँका स्थानीय तहले जनाएका छन् ।