स्वास्थ्य युवा महोत्सव–२०८३ सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

Image
maya metro

अत्तरिया – समाजिक विकास मन्त्रालयमा भएको कार्यक्रममा स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम भन्ने नारासहित आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सव–२०८३ लाई सफल बनाउन सरकारी निकाय, निजी स्वास्थ्य संस्था तथा आयोजक संस्थाका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्री सन्तोषकुमारी शर्मा (थापा), मन्त्रालयका स्वास्थ्य शाखाका निमित्त प्रमुख डा. नीरज अर्याल, निजी स्वास्थ्य संस्थाका प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य र स्वास्थ्य आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

nisarga

अन्तरक्रियामा निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त, कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी, गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, जिल्ला जनस्वास्थ्य कार्यालयका सूर्य बिट, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रमुख जनकराज ढुंगाना, आयोजक सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल ‘विप्लभ’, सुदूरपश्चिम युवा चेम्बरका अध्यक्ष जय धामी, कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारी, गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तारा जोशीसहित विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जेन्जी आन्दोलनका घाइतेहरूको सहभागिता पनि रहेको थियो।

महोत्सव सफल बनाउन मन्त्रीको प्रतिबद्धता

अन्तरक्रियामा सामाजिक विकास मन्त्री सन्तोषकुमारी शर्मा (थापा) ले स्वास्थ्य युवा महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग र समन्वयका लागि सकारात्मक धारणा राख्नुभएको थियो। महोत्सवलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, नागरिकलाई विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने तथा स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल गरिएको थियो।

स्वास्थ्य सेवामा सहकार्य गर्ने मन्त्रालयको प्रतिबद्धता

मन्त्रालयका स्वास्थ्य शाखाका निमित्त प्रमुख डा. नीरज अर्यालले महोत्सव सफल बनाउन मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायबाट आवश्यक समन्वय र सहयोगमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै, निजी अस्पताललगायत सरकारी स्वास्थ्य निकायलाई पत्राचार गरी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सहकार्य गरिने जानकारी दिए।

स्वास्थ्य सचेतनादेखि निःशुल्क परीक्षणसम्म

आयोजकका अनुसार स्वास्थ्य युवा महोत्सवमा छ दिनसम्म स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सकसँग संवाद तथा स्वास्थ्य परीक्षणका कार्यक्रम सञ्चालन गरिनेछ। महोत्सवमा मानसिक स्वास्थ्य, किशोरकिशोरीको स्वास्थ्य, महिला स्वास्थ्य, पोषण, नसर्ने रोगको रोकथाम तथा स्वस्थ जीवनशैलीजस्ता विषयमा विशेष छलफल गरिनेछ।

त्यसैगरी, पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि नमुना सङ्कलन (HPV-DNA तथा VIA), आँखा परीक्षण तथा परामर्श, दन्तरोगसम्बन्धी परीक्षण र परामर्श, योगसम्बन्धी सचेतना तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शको व्यवस्था गर्ने लक्ष्य राखिएको छ।

महोत्सवमा विभिन्न उमेर समूहका युवा, किशोरकिशोरी तथा महिलाको स्वास्थ्य आवश्यकतालाई प्राथमिकता दिइनेछ। विशेषज्ञ चिकित्सकसँगको अन्तरक्रियामार्फत स्वास्थ्यसम्बन्धी भ्रम हटाउने, समयमै रोग पहिचान गर्ने र उपचारप्रति सचेतना बढाउने उद्देश्य राखिएको छ।

आयोजकको उद्देश्य : स्वस्थ नागरिक, समृद्ध समाज

अन्तरक्रियामा आयोजक सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल ‘विप्लभ’ ले महोत्सवको उद्देश्य र आवश्यकतामाथि प्रकाश पार्दै कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालालाई सहकार्यका लागि आग्रह गरेका थिए। उनले सरकारी तथा निजी स्वास्थ्य संस्था, स्थानीय तह, चिकित्सक, सामाजिक संस्था र समुदायबीचको सहकार्यबाट मात्रै स्वास्थ्य सचेतना अभियानलाई प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए।

छलफलमा सहभागीहरूले महोत्सवलाई औपचारिक कार्यक्रममै सीमित नराखी नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने स्वास्थ्य सेवामुखी अभियानका रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य युवा महोत्सव–२०८३ गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। आयोजकले महोत्सवलाई सफल बनाउन सरकारी तथा निजी स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, युवा, सञ्चारकर्मी र आम नागरिकलाई सहयोग तथा सहभागिताका लागि आग्रह गरेको छ।

स्वास्थ्यसम्बन्धी सचेतना, समयमै रोगको पहिचान र उपचारमा पहुँच विस्तार गर्दै स्वस्थ युवा र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।