
अत्तरिया – नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधर क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनबाट चयन गरिएको क्षेत्रीय समितिलाई लिएर विवाद उत्पन्न भएको छ।
अधिवेशनको बन्द सत्र नै नबसी होटलको कोठामा सीमित व्यक्तिहरूले समिति चयन गरेको आरोप लगाउँदै असन्तुष्ट क्षेत्रीय प्रतिनिधिहरूले उक्त समिति अवैध भएको दाबी गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै क्षेत्रीय प्रतिनिधि निर्मल बिष्ट, राकेश चन्दलगायतले अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र सञ्चालन नगरी समिति चयन गरिएको आरोप लगाएका हुन्।
उनीहरूका अनुसार बन्द सत्रमा सहभागी हुनुपर्ने प्रतिनिधिहरूको उपस्थितिबिनै होटल सत्कारको कोठामा केही सीमित व्यक्तिहरू बसेर वीरबहादुर चोखालको सभापतित्वमा क्षेत्रीय समिति चयन गरिएको थियो।
असन्तुष्ट पक्षले समिति चयन प्रक्रियामा आम कार्यकर्ताको सहभागिता नरहेको तथा केही व्यक्तिका आफन्त र श्रीमान्–श्रीमतीलाई समेत होटलको कोठामा राखेर समिति गठन गरिएको आरोप लगाएको छ । उनीहरूले यस्तो प्रक्रियाबाट चयन गरिएको समितिलाई वैधानिक मान्न नसकिने बताएका छन् ।
निर्मल बिष्ट, राकेश चन्द, अनिल मल्ललगायत २९ जना क्षेत्रीय प्रतिनिधिले समिति चयन प्रक्रियामाथि प्रश्न उठाउँदै केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन् ।
क्षेत्रीय प्रतिनिधिविष्टले आफूहरु राती ८ बजेसम्म बन्दशत्र हुने भनेर पर्खिएको भए पनि भोलि हुने भन्दै घर पठाएर मध्यराती चयन गरिएको बताए ।
उनीहरूले अधिवेशनको विधि र प्रक्रिया मिचेर चयन गरिएको भनिएको समितिलाई बदर गरी विधिसम्मत रूपमा समिति चयन गर्न माग गरेका छन्। अपांग अधिकारकर्मी मल्लले अपांगको कोटामा सांग व्यत्ति राखिएको बताए ।
असन्तुष्ट क्षेत्रीय प्रतिनिधिहरूले पत्रकार सम्मेलनमार्फत उक्त समिति अवैध रहेको दाबी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।















