
अत्तरिया – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार (आज) धनगढीमा संस्थाले कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शाखामा कार्यरत सहायक कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षणमा लघुवित्तको परिचय, इतिहास तथा वर्तमान अवस्था, उद्देश्य र आवश्यकता, सदस्य पहिचान तथा केन्द्र निर्माण, केन्द्र बैठक सञ्चालन तथा व्यवस्थापन, कर्जा लगानी र कर्जा असुलीलगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

त्यस्तै कर्जा मागको विश्लेषण तथा परियोजना भ्रमण, कर्जा सदुपयोगिता निरीक्षण, नियमित असुली प्रक्रिया, ताकेता तथा कानुनी कारबाहीको सिफारिस, बीमा तथा निक्षेपमा दाबी प्रक्रिया र असल ग्राहक व्यवस्थापनका विषयलाई समेत प्राथमिकताका साथ प्रशिक्षणमा समेटिएको थियो ।
कार्यक्रममा संस्थागत तथा वित्तीय अनुशासन, कर्मचारी आचारसंहिता, क्याम्पेन तथा ‘३ जिरो क्लब’ लगायतका विषयमा पनि जानकारी दिइएको थियो। सहभागी कर्मचारीहरूले शाखा तथा केन्द्रस्तरमा देखिने व्यावहारिक समस्या, कर्जा लगानी तथा असुली प्रक्रिया र सदस्य व्यवस्थापनसम्बन्धी जिज्ञासा राखेका थिए।सहभागीका जिज्ञासाको सम्बन्धित विभाग तथा प्रदेशस्तरका प्रमुखहरूले समाधान गर्दै कार्यक्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आवश्यक सुझाव तथा मार्गदर्शन दिएका थिए ।
प्रशिक्षणले सहायक कर्मचारीहरूको व्यावहारिक ज्ञान, कर्जा व्यवस्थापन तथा असुली क्षमता अभिवृद्धि गर्नुका साथै शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ । सहभागी कर्मचारीहरूलाई प्रशिक्षणबाट प्राप्त ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्दै संस्थाको लक्ष्य प्राप्तिमा योगदान गर्न आग्रह गरिएको थियो।
संस्थाको केन्द्रीय कार्यालय कर्जा असुली विभाग प्रमुख ऋषिराज परियार र सुदूरपश्चिम प्रदेश प्रमुख राजेन्द्रबहादुर खड्काले प्रशिक्षण दिएका थिए। कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न शाखामा कार्यरत सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो।















