कैलालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३ लागू

Image
maya metro

धनगढी – दशैं, तिहार तथा छठ पर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना–२०८३ लागू गरेको छ।

चाडपर्व लक्षित योजनाअन्तर्गत कैलालीमा १ हजार १४६ प्रहरी परिचालन गरिएको छ। बजार, मुख्य सडक, बसपार्क, बैंक तथा वित्तीय संस्था, धार्मिक स्थल र भीडभाड हुने क्षेत्रमा गस्ती तथा निगरानी बढाइने प्रहरीले जनाएको छ।

nisarga

भारतसँग जोडिएका सीमा क्षेत्रमा चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित तथा आकस्मिक चेकजाँच गरिनेछ। आवश्यकताअनुसार मोबाइल, पैदल, सादा पोशाक, क्यूआरटी, स्ट्राइकिङ र रिजर्भ टोली परिचालन हुनेछन्।

चाडपर्वमा यात्रुको सहजता र सुरक्षाका लागि १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हराएका तथा छुटेका बालबालिका र व्यक्तिको खोज तथा उद्धारमा समेत सहायता कक्षमार्फत समन्वय गरिनेछ।

ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी चाप र दुर्घटना नियन्त्रणका लागि चेकजाँच बढाइनेछ। चालकको मादक तथा लागुऔषध सेवन, तीव्र गति र सवारीको अवस्थामासमेत निगरानी गरिनेछ।

बैंक, सुनचाँदी पसल, सहकारी तथा बढी आर्थिक कारोबार हुने क्षेत्रमा विशेष सुरक्षा निगरानी राखिनेछ भने चोरी, लुटपाट र पाकेटमारी नियन्त्रणका लागि सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ। जुवातास, अवैध मदिरा, लागुऔषधलगायत गैरकानुनी गतिविधिविरुद्ध विशेष निगरानी गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

धार्मिक स्थल, मेला तथा भीडभाड हुने क्षेत्रमा स्थानीय तह र आयोजकसँग समन्वय गरी सुरक्षा तथा भीड व्यवस्थापन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका व्यक्तिको सुरक्षालाई प्राथमिकता दिइनेछ।

प्रहरीले नागरिकलाई चाडपर्व सुरक्षित र मर्यादित रूपमा मनाउन तथा घर, पसल वा कार्यालय छाडेर बाहिर जाँदा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।