
डोटी – डोटीको सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणले आयोजना गरेको स्वास्थ्य शिविरमा २४२ जनाले सेवा लिएका छन् । सोमबार जिल्लाको शिखर नगरपालिका वडा नंम्बर ११ बारपाटामा आयोजना गरीएको एकदिने स्वास्थ्य शिविरमा १४७ जना महिला,७८ जना पुरुष र १७ जना बालबालीका गरी २४२ जनाले सेवा लिएका हुन् । सैनिक श्रीमती संघ, श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला अस्पताल डोटी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला डिभिजन वन कार्यालय, कृर्षी ज्ञान केन्द्र, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटी र जिल्ला स्थित भू.पू. सैनिक संघका अध्यक्ष तथा फोकल ब्यक्तिहरुसंगको समन्वयमा स्वास्थ्यको पहुंचबाट टाढा रहेका नागरिकहरुलाई लक्षित गरी गणले स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।


स्वास्थ्य शिविरमा आएका सेवाग्राहिलाई रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हतखुट्टा तथा जोर्नी, बल्ड प्रेशर, सुगर र महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरुबारे समेत चेकजांच गरी निःशुल्क औषधी वितरण गरिएको हो । स्वास्थ्य शिविरका क्रममा भैरव प्रसाद गणले स्थानिय कला संस्कृति झल्किने छलिया नृत्यका साथै विभिन्न जनचेतना मुलक नाटक समेत प्रस्तुत गरेको थियो ।

शिविरमा श्री नं. ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेश जंग शाह, भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी श्री जनमत बहादुर कार्की,सैनिक श्रीमती संघका प्रतिनिधीको उपस्थीती रहेको थियो । त्यसैगरी शिविरमा शिखर नगरपालिकाका प्रतिनिधि, शिखर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष, जिल्ला डिभिजन वन कार्यालयका प्रतिनिधि, कृर्षी ज्ञान केन्द्रका प्रतिनिधि, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटीका प्रमुख तथा प्रतिनिधिको पनी उपस्थीती रहेको थियो ।

यस्ता कार्यक्रमले सैनिक नागरिक सम्बन्ध सुदृढ हुनुका साथै जिल्ला अस्पतालसम्म आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुने गणपति जनमत बहादुर कार्कीले बताए । स्थान विशेषमा नै स्वास्थ्य उपचार पाउंदा स्वास्थ्यको पहुंचबाट टाढा रहेका नागरिकहरुको जनजिवनमा समेत केहि राहत पुग्ने सक्ने गणपति कार्कीले बताए ।













