हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

Image
maya metro

काँक्रेविहार – डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लागेको छ।

‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो। अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले बताए।

nisarga

हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवाको तस्वीर कैद गरिएको बताए।

हुम्ला सदरमुकाम सिमीकोटदेखि ५ दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानेकुरा बोकेर हिउँ चितुवा पाइने स्थानमा पुगिने जानकारी उनले दिए।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क संकलन सकिएको बताए।

माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणना गरिएको थियो। गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिए।

नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले जानकारी दिए। उनले भने, “सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ।”

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा ६ वटा वडा रहेका छन् भने कुल क्षेत्रफल करिब २ हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ।