
बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिका ५ मा पुन: मतदान शान्तिपूर्ण रुपमा सकिएको छ।
सो मतदान स्थलका ९ सय ९९ मतदाता रहेकामा ५ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

विवादित केन्द्रको छानबिन गर्न शुक्रबार बाजुरा पुगेको निर्वाचन आयोगको टोलीले आज राजनीतिक दलका पदाधिकारीसँग छलफल गरेको छ । छानबिन टोलीले तयार पारेको प्रतिवेदन अनुसार निर्वाचन आयोगले विवादित स्थानमा पुनः मतदान गर्ने वा खसेकै मत गणना गर्ने निर्णय गर्नेछ ।
बाजुराका २४ मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो। एमालेले १६ र कांग्रेसले आठ मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन्। उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ।गत मंसिर ४ गतेको निर्वाचनमा बाजुराका त्रिवेणी नगरपालिकामा विवाद र झडप भएको थियो ।
झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एकजनाको कुटपिटबाट मृत्यु भएको थियो ।आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले पनि स्थलगत अध्ययन गर्ने भएको छ।












