

काठमाडौं – भूकम्प आउने हल्ला फैलाए पछि बाजुरा,जुम्ला र मुगु का बासिन्दा रातभर बाहिर बसेका छन्।
भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए।
महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे। प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएको बताए। यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उनको आग्रह छ ।

उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए। भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन्।
गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो । यो भूकम्प पछि पश्चिमी क्षेत्रका नागरिक त्रासमा छन् ।
