अत्तरिया – बझाङ्गमा संचालित आँखा शिविरमा १ हजार ६०० बढिलाई सेवा प्रदान गरीएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा माघ ७ गते देखि १६ गते सम्म बझाङ्गको प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र भैरव मा वि झोतामा गरि ३ स्थानमा संचालित शिविरहरुमा जम्मा १ हजार ६३० जनाले आँखा उपचार सेवा लिएका हुन् । जसमध्ये ४४५ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएकोमा ४४३ जना मोतिविन्दुका विमारीहरुको शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ ।
उक्त शिविरहरुमा २ जनामा आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै ११सय८५ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।
आँखा शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङ्गको नेतृत्वमा संचालित उक्त शिविरहरुमा, १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
उक्त शिविरहरु संचालनमा देउलेक गाउँपालिका, प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, स्वास्थ्य कार्यालय बझाङ्गका कर्मचारी र श्री भैरव मा वि झोताका शिक्षक, विद्यार्थीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।
यस प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवामा पहूँच बढाई अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा नेत्र विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना गरि आँखा उपचार तथा अप्रेशन सेवा प्रदान गर्नको साथै आँखा उपचार केन्द्र धनगढीमा हप्तामा एक पटक प्रत्येक बिहिवार र आँखा उपचार केन्द्र बेलौरीमा प्रत्येक महिनाको अन्तिम बुधवार महिनामा एक पटक गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट अप्रेशन सेवा प्रदान गर्दै आई रहेको छ ।
यस्को साथै प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका आँखा उपचार केन्द्रहरुबाट आँखा उपचार सेवा प्रदान गरि रहेको तथा आँखा उपचार केन्द्रमा सेवा लिन आएका जटिल प्रकृतिका बिरामीहरुलाई टेलिमेडिसिन सेवा द्वारा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श तथा उपचार सेवा पनि प्रदान गरिदै आएको छ । गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरु तथा शिविरबाट २ लाख ५१ हजार८३१ जनालाई सेवा प्रदान गरेकोमा २४हजार१४१ जनालाई अप्रेशन सेवा प्रदान गरेको छ ।
अस्पताल र शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।