Attariya Hospital Pvt.Ltd.

हुलाकी सडक स्तरोन्नतिको कार्य सुस्त

padma
milan sunchadi

धनगढी – राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको स्तरोन्नति कार्य सुस्त रहेको छ। कैलालीमा काम भइरहेको सातवटै प्याकेजको म्याद एक वर्षका लागि थप गरिए पनि निर्माण कार्यले गति लिएको छैन।

यसअघि तोकिएको समयावधिमा न्यून भौतिक प्रगति गरेका निर्माण कम्पनीले अब २०८० भित्रै हुलाकी राजमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्नेछ। यद्यपि अहिलेसम्मको काम गराइको अवस्था हेर्दा थप गरिएको समयमा पनि निर्माण कम्पनीले काम पूरा गर्न सक्ने अवस्था देखिन्न।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारका अनुसार यही गतिमा काम भएमा थप गरिएको समयसीमाभित्र स्तरोन्नति कार्य पूरा हुन सक्दैन। सबै प्याकेजको पहिलो पटकको समयावधि ३० महिना रहेको थियो।

Siddi ganesh

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण कार्य सुरु भएको हुलाकी राजमार्गलाई सुरुमा भारत सरकारको सहयोगमा भारतीय कम्पनीले बनाएको थियो। सो कम्पनीले अधुरै राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सबै काम नेपाल सरकारको लगानीमा भइरहेको छ।

पहिलो चरणको निर्माण कार्य पूरा नहुँदै २०७७ बाट स्तरोन्नतिको कार्य भइरहेको छ। जसअन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको हुलाकी राजमार्ग बन्दै छ। काम भइरहेको सातवटै प्याकेजमा आधाजसो पनि काम पूरा भएको छैन।

चार लेनमा १५ मिटर चौडाइ भएको कालोपत्रे र सडकको बीचमा दुई मिटरको मेडियन बन्दै छ। यसैगरी दुई लेनमा सात मिटर चौडाइ भएको कालोपत्रे गर्ने कार्य भइरहेको छ।

हुलाकी राजमार्ग आयोजनाको कार्यालयका अनुसार धनगढीको क्याम्पस रोडदेखि कटनी खोलासम्म सात किलोमिटरसम्म पहिलो प्याकेज बनाएर काम हुँदै छ। यसै खण्डमा चार किलोमिटर क्षेत्रमा चार लेन सडक बनाउने कार्य भइरहेको छ। २०७७ असार १४ मा ठेक्का सम्झौता भएको यो खण्डको २०८० पुस ९ गतेसम्म म्याद थप भएको छ। ३७ करोड ४२ लाख रुपियाँ लगानीमा बनिरहेको पहिलो प्याकेजको हालसम्म वित्तीय प्रगति ५७ र भौतिक प्रगति ६० प्रतिशत पुगेको जनाइएको छ।

यसैगरी कटनी खोलादेखि १४ किलोमिटर दूरीमा दोस्रो प्याकेज बनाएर काम भइरहेको छ। यो खण्डको समयावधि २०८० पुससम्म थप भएको छ। ३२ करोड ३० लाख रुपियाँमा काम भइरहेकामा हालसम्म वित्तीय प्रगति ३५ र भौतिक प्रगति ४० प्रतिशत पुगेको छ।

त्यस्तै १९ देखि ३१ किलोमिटर खण्डलाई तेस्रो प्याकेज बनाएर स्तरोन्नति कार्य भइरहेको छ। हालसम्म भौतिक र वित्तीय प्रगति २५/२५ प्रतिशत रहेको यो प्याकेजको म्याद आगामी पुस १९ गतेसम्म थपिएको छ। यो खण्डको २७ करोड ८५ लाख रुपियाँमा ठेक्का भएको थियो। तीनवटै प्याकेजको ठेक्का स्वच्छन्द–जोशी जेभीले पाएको थियो।

यसैगरी ठेकीपुर पुलदेखि चौथो प्याकेजमा हालसम्म वित्तीय र भौतिक प्रगति २०/२० प्रतिशत मात्रै रहेको छ। ३२ करोड ६६५ लाख रुपियाँमा ठेक्का पाएर कालिका–जोशी जेभीले काम गरिरहेको छ। तोकिएको समावधिमा काम पूरा नभएपछि आगामी पुस १९ गतेसम्म म्याद थप गरिएको छ।

यस्तै लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरको पहिलो प्याकेजको भौतिक प्रगति ६५ र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ। यो प्याकेजको आगामी असार ५ गतेसम्म म्याद थप गरिएको छ। ४० करोड १९ लाख रुपियाँमा ठेक्का पाएर कालिका–कुमार जेभीले काम गरिरहेको छ। यो खण्डमा एउटा घरको कारण निर्माण कार्यमा बाधा भइरहेको इन्जिनियर सुनारले बताए।

यस्तै आठदेखि १८ किलोमिटरसम्मको दोस्रो प्याकेजको भौतिक प्रगति ३० र वित्तीय प्रगति २५ प्रतिशत छ। २०७७ जेठ २६ मा सम्झौता भएको यो प्याकेजको काम पूरा नभएपछि आगामी पुस २५ गतेसम्म म्याद थपिएको छ। ४० करोड ९९ लाखमा एपेक्स–खड्का–कृष्ण जेभीले काम गरिरहेका छन्। टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजको भौतिक ३० र वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ। यो खण्डमा ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले काम गरिरहेका छन्। यो प्याकेजको म्याद आगामी पुस १३ सम्म थप गरिएको जनाइएको छ।

Nawadurga
Loading...