
कैलाली – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन्।
जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार बिरमान चौधरी ले ११ हजार ९८३ मत प्राप्त गरेका छन्।

२०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेशसभा निर्वाचनमा साबिक माओवादीबाट निर्वाचित भएका थिए। तर यसपटक भने उनी पराजित भएका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिम बडुवाल ले ९ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपा ९एमाले० का उम्मेदवार गौरीशंकर चौधरी ले ४ हजार ७५२ मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरी ले ६ हजार ७४७ मत प्राप्त गरेका छन्।
२०७४ र २०७९ सालमा भजनी नगरपालिका–३ को वडा अध्यक्षमा विजयी भएका उनी यसपटक प्रतिनिधिसभा सदस्यमा पराजित भए ।
निर्वाचन अधिकृत पुष्कलराज पर्साइ का अनुसार यस निर्वाचन क्षेत्रमा कुल ६० हजार २९४ मत खसेको थियो।
राष्ट्रिय जनमोर्चा पार्टीको कैलाली जिल्ला अध्यक्षबाट राजीनामा दिएर गत साउनमा रास्वपामा प्रवेश गरेका ३९ वर्षीय जोशी समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका नेता हुन्। लामो समय शिक्षण पेसामा संलग्न रहेका उनी जनआन्दोलनका घाइतेसमेत हुन्।
यसअघि उनले राष्ट्रिय जनमोर्चाबाट २०७० सालमा संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार, २०७४ मा सुदूरपश्चिम प्रदेशसभा निर्वाचनमा समानुपातिक उम्मेदवार तथा २०७९ सालमा घोडाघोडी नगरपालिका–१० को वडा अध्यक्ष पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।













