प्रदेश राजधानीकै वडामा ४ महिना सवारी ठप्प

Image
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरीबाट पुलबस्तीतर्फ जाँदै गरेका स्थानीयहरू। तस्विर : कृष्ण धामी
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको प्रस्तावित स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका–४ स्थित फुलबस्तीमा हरेक वर्ष असारदेखि असोजसम्म सार्वजनिक तथा निजी सवारीको आवागमन ठप्प रहन्छ ।

गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियाबाट फुलबस्तीसम्म पुग्न मुलत दुईवटा मार्ग प्रयोग गर्न सकिन्छ । बेल पानी फुलबस्ती वा गोदावरी फुलबस्ती ।

nisarga

फुलबस्तीसम्म पुग्नुअघि बाटोमा दुवै मार्गबाट करिब आधा दर्जन गाउँहरु छिचोल्नुपर्छ । गोदावरी नगरपालिकाका कार्यबाहक वडा अध्यक्ष शेर बहादुर घर्तीमगरका अनुसार दुवै मार्गमा गरेर करिब ५ सय घरधुरी बसोबास गर्दै आएका छन् ।

दुवैतिरको कच्ची सडकको दयनीय अवस्थाका कारण बर्सेनि वर्षायाममा सवारीसाधन सञ्चालन हुन नसक्दा यी ५ सय घरधुरीले ठुलो सास्ती खेप्दै आएका छन् ।

वर्षा याम सुरु भएसँगै सडक हिलाम्मे र जोखिमपूर्ण बन्ने भएकाले सार्वजनिक तथा निजी सवारी सञ्चालन पूर्ण रूपमा प्रभावित हुने गरेका छन् ।

सवारी सञ्चालन नियमित नहुँदा बिरामीलाई अस्पताल पु¥याउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको स्थानीय बताउँछन् ।

फुलबस्तीका कृष्ण धामीले गत जेठ अन्तिम सातादेखि सडक ठप्प हुँदा अत्तरिया बजारसम्म आउन पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

वर्षाका चारदेखि ६ महिना सडक सञ्चालन नहुँदा बालबालिका, गर्भवती, बिरामीहरूलाई अहिले पनि बोकेर लालपुर वा गोदावरीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेशको राजधानी क्षेत्रभित्र पर्ने वडा भए पनि आधारभूत सडक पूर्वाधारको अभावका कारण स्थानीयले दशकौँदेखि सास्ती भोग्दै आएको भन्दै उनले सडक सञ्चालन हुन नसक्दा कृषि उत्पादन बजारसम्म पु¥याउन समेत कठिनाइ हुने गरेको बताए ।

सम्बन्धित निकायसँग पटक–पटक सडक स्तरोन्नतिको माग गरे पनि दीर्घकालीन समाधान हुन नसकेको धामीको गुनासो छ । गोदावरी नगरपालिका वडा नम्बर-४ ले बेल पानी फुलबस्ती सडकमा बर्सेनि सरसफाइका लागि मात्रै बजेट विनियोजन गर्दै आइरहेको छ ।

गत वर्ष पनि वर्षा याम सकिएपछि सरसफाइ गरी सडक सञ्चालनमा ल्याएको कार्यवाहक वडा अध्यक्ष घर्तिमगरले बताएका छन् । गत वर्ष प्रदेश सरकारबाट २० लाख रकम विनियोजन भएको भए पनि डिपीआर नहुँदा फ्रिज भएको उनले बताए ।

फुलबस्तीसम्म पुग्ने सडक कालोपत्रेका लागि आफूहरूले लामो समयदेखि प्रयास गर्दै आएको भए पनि सुनुवाइ नभएको उनले बताए । चुनावको समयमा नेताहरू गएर ठुलठुला भाषण गरेर आउने तर बर्सेनि यहाँका जनतालाई ठग्ने काम भइरहेको उनको भनाई छ ।

“म वडा सदस्यको हैसियतले थुप्रैपटक प्रदेश सरकारसम्म माग लगेर गएको छु, यहाँका प्रदेश सभा सदस्यहरू र प्रतिनिधि सभा सदस्यलाई पनि भनेको छु । तर, उहाँहरू चुनावको बेला गएर भाषण मात्रै गरेर आउनुहुन्छ काम गर्नुहुन्न ।,उनले भने ।”

वडा र नगरको बजेटले सो सडक कालोपत्रे सम्भव नहुने उनको भनाई छ । सङ्घीय सरकारसँग पनि उक्त सडक कालोपत्रेको माग गरेको तर डिपीआर नहुँदा सम्भव नभएको घर्ती मगरले बताए ।

वडाको क्षेत्रफल बढी हुँदा पनि आफूहरूलाई विकास निर्माणका काममा असहजता भइरहेको उनको भनाई छ ।

प्रदेश सरकार, गोदावरी नगरपालिका र सम्बन्धित निकायलाई सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माणलाई प्राथमिकतामा राख्न स्थानीयले आग्रह गरेका छन् ।