
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ स्थित लालपुरमा फेरि चितुवा देखिएको सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय धनगढीले निगरानी बढाएको छ।
स्थानीयले चितुवा देखिएको जानकारी गराएपछि शुक्रबार वन अधिकृत चौधरीको नेतृत्वमा गएको टोलीले उक्त क्षेत्रमा चितुवाको उपस्थितिबारे पहिचान तथा निगरानी गरेको हो। टोलीले चितुवाको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्यापिङ क्यामेरा जडान गर्नुका साथै पासोसहितको खोरसमेत राखेको छ।

सोही क्षेत्रमा गत बुधबार मात्रै एउटा चितुवाको उद्धार गरिएको थियो। उद्धार गरिएको चितुवालाई सुरक्षित स्थानमा छाडिएको वन अधिकृत चौधरीले जानकारी दिए ।
बुधबार चितुवा उद्धार गरिएको स्थानमै पुनः चितुवा देखिएको सूचना आएपछि वन कार्यालयले थप सतर्कता अपनाउँदै निगरानी बढाएको हो। डिभिजन वन कार्यालय धनगढीले उक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।






























