स्थानीय तहको निर्वाचनका लागि बैतडीमा २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Image
maya metro

बैतडी – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा साढे २ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्।

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

nisarga

निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसैगरी बाहिरी घेरामा सुरक्षा दिन नेपाली सेनासमेत परिचालन गरिएको जनाइएको छ।

म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्रसम्म परिचालन गरिएको छ। प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ (गस्ती) समेत गरिरहेको छ।

निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ। बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन्। यीमध्ये सुरक्षाको दृष्टिकोणले ३१ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन्।

जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। सबै ठाउँमा निर्वाचन सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ जना वडा सदस्य गरि ४ सय ४० पदका लागि निर्वाचन हुँदैछ।