
बैतडी – बैतडीमा पम्प खुलेको १३ वर्षपछि शनिबारदेखि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ । तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाइमा नेपाल आयल निगम धनगढीका कर्मचारी बोलाएर शनिबार तापक्रम नापजाँच गरेर मूल्य समायोजनका लागि पहल भएपछि पेट्रोल वितरण सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडी र आयल निगमका कर्मचारीले शनिबार धनगढीबाट आएको छ हजार लिटर क्षमताको ट्याङ्करको सिल खोलेर तापक्रम नापजाँच गर्दा ३६ डिग्री तापक्रममा तेल भरेर धनगढीबाट बैतडी आएको ट्याङ्करको तेलको तापक्रम बैतडी पुग्दा २३ डिग्रीमा झरेको थियो ।
आयल निगमका प्राविधिक वेदराज जोशीले तापक्रम घट्दा पेट्रोल बाक्लो हुँदै जाने भएका कारण बिक्रेतालाई घाटा हुनेगरेको बताए ।
छ हजार लिटरको पेट्रोलको ट्याङ्कर धनढीबाट बैतडी पुग्दा तापक्रम कम भएपछि करिब १८० लिटर पेट्रोल घट्नेगरेको तापक्रम परीक्षणले देखाएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
उनले भने , “मूल्य समायोजन गर्ने सहमतिमा शनिबारदेखि पेट्रोल पम्पबाटै पेट्रोल बिक्री गर्न लगाएका छौं । पेट्रोलको मूल्य अहिले १८२ रुपियाँ छ ।” पेट्रोलपम्पमा पेट्रोल नपाइँदा बैतडीमा दुई सय रुपियाँदेखि २२० रुपियाँसम्म ड्रममा खुला राखेर तेल बिक्री हुनेगरेको छ । अब खुला रुपमा पेट्रोल बेच्न बन्द हुन्छ । मूल्य समायोजनका लागि जिल्ला प्रशासन कार्यालयबाट आयल निगमसँग समन्वय भइरहेको छ ।
तापक्रमका कारण चिसो ठाउँमा ल्याएर पेट्रोल बेच्दा घाटा हुने भएकाले बिक्री बन्द गरेको बताउँदै आयल स्टोरका सञ्चालक पदमबहादुर भण्डारीले प्रशासनको सहयोगमा मूल्य समायोजन हुने भएपछि शनिबारदेखि पम्पबाट पेट्रोल बिक्री सुरु भएको बताए ।
पेट्रोल पम्पबाट पेट्रोल बिक्री वितरणलाई सहज बनाउन जिल्ला प्रशासनले एक महिनादेखि थालेको थियो । प्रशासनले सार्वजनिक सवारी साधनको भाडादर पनि घटाएको छ ।













