
पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा सोमबार प्रदेश १ ले मधेस प्रदेश र सुदूरपश्चिमले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गरेका हुन् ।
तुलनात्मक रुपमा बलियो देखिएको प्रदेश १ ले मधेस प्रदेशसँगको पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो ।

दोस्रो सेटमा भने मधेश लयमा फर्किँदा २६-२४ को प्रतिस्पर्धात्मक खेलमा प्रदेश १ भाग्यमानी ठहरियो । तेस्रो सेटमा पुनरागमन गर्दै प्रदेश १ ले २५–९ मै मधेसलाई पाखा लगायो । समूह ‘बी’ को दुवै खेलमा पराजय बेहोर्दै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरएको छ । समूह विजेता हुँदै त्रिभुवन आर्मी यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।
अर्को खेलमा सुदूरपश्चिम प्रदेशले एनआरएनएलाई ३–० सेटमा पराजित गर्यो । सुदूरपश्चिमले २५–९, २५–२० र २५–१३ ले खेल आफ्नो पक्षमा पार्दा पुरुष भलिबलमा पाहुना टोलीको राष्ट्रिय खेलकुद यात्रा टुंगिन पुग्यो । समूह ‘सी’ को उपविजेता हुँदै सुदूरपश्चिमले क्वार्टरफाइनल यात्रालाई सुनिश्चित गर्यो ।
प्रतियोगिताअन्तर्गत आज क्वार्टरफाइनल चरणका खेल हुनेछन् । बिहान सुरु हुने क्वार्टरफाइनलमा पहिलो खेल पुलिस र सुदूरपश्चिम, दोस्रो खेल त्रिभुवन आर्मी र वाग्मती प्रदेश, तेस्रो खेल एपीएफ र लुम्बिनी प्रदेश र अन्तिम खेल गण्डकी र प्रदेश १ बीच हुनेछ । बुधबार सेमिफाइनल र बिहीबार फाइनल प्रतिस्पर्धा हुनेछ ।































