
दोलखा – एक महिनाअघि लप्चीमा खेल्दै गरेका दुईवटा हिमचितुवाको फोटो गौरीशंकर संरक्षण क्षेत्रको क्यामेरा ट्य्रापिङमा कैद भएको छ । सन् २०१९ मा पहिलोपल्ट संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्य्रापिङमा एक वयस्क हिमचितुवाको फोटो कैद भएको हो । हाल उक्त क्षेत्रमा हुर्किँदै गरेका बच्चा र आमाको फोटो संरक्षण क्षेत्रको क्यामेरामा कैद भएको हो ।
३ वर्षको अन्तरमा यो दोस्रो पटक लप्ची क्षेत्रमा देखिएका हिमचितुवा क्यामेरा ट्य्रापिङमा कैद भएका हुन् । ३ हजार मिटरको उचाईबाट माथिल्लो भेगमा पाइने हिमचितुवाको गणनाका लागि हाल संरक्षण क्षेत्रले क्यामेरा ट्य्रापिङ गरिरहेको छ । संरक्षण क्षेत्रले गरेको अध्ययनका क्रममा हुर्किँदै गरेको बच्चा र आमासहित लप्चीमा हिमचितुवा फेला परेपछि संरक्षणकर्मी उत्साहित बनेका छन् । रोल्वालिङ क्षेत्रमा गरेको क्यामेरा ट्य्रापिङमा पनि हिमचितुवाका फोटोहरू कैद भएको संरक्षण क्षेत्रले जनाएको छ ।














