मनासलुमा बीस वर्षपछि हिउँदे आरोहण

Image
maya metro

काठमाडौँ – दुई दशकपछि यस वर्षको हिउँदे सिजनमा मनासलुमा पहिलो आरोहण भएको छ । उच्च हिमाल आरोहण गर्न चुनौतीपूर्ण मानिने यस सिजनमा एक जना स्पेनिस नागरिकसहित छ जना शेर्पा आरोहीको समूहले सन् १९९८ पछि पहिलो पटक मनासलु आरोहण गरेका हुन् ।

४१ वर्षीय एलेक्स टेक्सिनको नेतृत्वमा गएको आरोही समूहले गत शुक्रबार बिहान मनासलु चुचुरो टेकेका थिए । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएको उक्त टोलीमा ४० वर्षीय छेपाल शेर्पा, ४४ वर्षीय ग्यालु शेर्पा, ३५ वर्षीय तेन्जेन शेर्पा, ३२ वर्षीय पासाङनर्ब‘ शेर्पा, ३४ वर्षीय मिङतेम्बा शेर्पा र २२ वर्षीय पेम्बाटासी शेर्पा रहेको पर्यटन विभागले जनाएको छ ।

nisarga

पर्यटन विभागका आरोहण शाखा निर्देशक युवराज खतिवडाले सन् १९९८ को डिसेम्बरमा दक्षिण कोरियाली समूहले आरोहण गरेयता हिउँदे मौसममा मनासलु आरोहण हुन सकेको थिएन  ।

विभागबाट हिउँदे मौसममा विभिन्न हिमाल आरोहण गर्न बिहीबारसम्म पाँच समूहका १५ जनाले अनुमति लिएका छन् । विभागको आरोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार मनासलुमा पहिलो आरोहण पूरा भए पनि चोयु र धौलागिरि आरोहणका लागि क्याम्प–३ पुगेको टोली प्रतिकूल मौसमका कारण आरोहण रोकेर फर्किएको छ ।

हिउँदे पर्वतारोहणतर्फ अहिलेसम्म चो ओयु, धौलागिरि, मनासलु, अमादब्लम र चुकिमा गो हिमाल आरोहण गर्न अनुमति लिएको उहाँले जानकारी दिनुभयो । आरोहण अनुमति लिनेमध्ये १२ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरूबाट सरकारले छ लाख ५५ हजार ६३२ रुपियाँ रोयल्टी सङ्कलन गरेकोे छ ।

यस वर्षको शरद ऋतुमा पनि मनासलुमा मुख्य आकर्षण देखिएको थियो । शरद ऋतुमा मनासलु आरोेहणका लागि ५४ समूहका ४८४ जनाले अनुमति लिएका थिए । उक्त समयमा मनासलु आरोहण गर्न १२० महिला र ३६४ जना पुरुषले अनुमति लिएका थिए । मनासलुबाट मात्रै शरद ऋतुमा सरकारलाई चार करोड ६२ लाख ९१ हजार ५७६ रुपियाँ राजस्व प्राप्त भएको थियो ।

शरद ऋतुमा सगरमाथा, धौलागिरि, हिमलुङ, मनासलु, न्युप्त्से, सरिबुङमालगायतका हिमाल आरोहणका लागि खुला गरिएको थियो । विभागले वसन्त ऋतु (मार्च, अप्रिल र मे) तथा शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा हिमाल आरोहणका लागि अनुमति दिँदै आएको छ ।