चीनलाई एक लाख बाँदर बेच्दै श्रीलंका

Image
maya metro

एजेन्सी – श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने भएको छ। आर्थिक रूपमा संकटग्रस्त श्रीलंकाले एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे त्यहाँका कृषिमन्त्रीले विचार गरिरहेको त्यहाँका सञ्चारमाध्ययमले जनाएका छन्।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर(टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन्)ले संकटापन्न वन्यजन्तुको रूपमा वर्गीकृत गरेको छ।

nisarga

देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एसियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ।

त्यहाँका सञ्चार माध्ययमका अनुसार बाँदर बिक्रीको प्रस्ताव सार्वजनिक गरिएपनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन।

कृषिमन्त्री महिन्दा अमरवीराले एएफपीसँग भने, ‘उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर चाहेका छन्। मैले अनुरोधको अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौं भनेर हेर्न एक समिति गठन गरेको छु।’

बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनीहरूको संख्या अत्यधिक भएका कारण श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ। तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीँ मानिसलाई समेत आक्रमण गर्छन्।

श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ।