प्रधानमन्त्री ओलीले गरे चलचित्रमा स्वरांकन

Image
maya metro

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का निम्ति स्वरांकन गरेका छन् । अनामनगरस्थित एक स्टुडियोमा पुगेर शनिबार उनले आफ्नो दृश्यको स्वरांकन गरेका हुन् ।

एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केहीअगाडि अभिनय गरेका थिए । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरूको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरूले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्…,” यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेका चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुंगानाले जानकारी दिए ।

nisarga

चलचित्रमा अभिनयका निम्ति आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गरेकामा उनले आभार व्यक्त गरे । “प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वरांकन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ,” निर्देशक ढुंगानाले भने ।

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गरेका छन् ।

शिवम् अधिकारीको कथालेखन रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनील कटुवाललगायत कलाकारले अभिनय गरेका छन् ।

रासस