यी हुन् ३० वर्ष मुनिका ८ सांसद

Image
maya metro

जेनजी आन्दोलनपश्चात् भएको प्रतिनिधि सभा निर्वाचनमा ३० वर्षमुनिका ८ जना उम्मेदवारले प्रत्यक्षतर्फ चुनाव जितेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि भएको चुनावले संसदमा जान उनीहरूको बाटो खोलेको हो।

यसरी जित्ने ३० वर्ष मुनिका अनुहारमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन्।

nisarga

मकवानपुर–२ बाट निर्वाचित रास्वपाका प्रशान्त उप्रेती कान्छो सांसदको परिचय बनाउने क्रममा छन्। ३० हजार ५० मत प्राप्त गरी निर्वाचित उप्रेती २५ वर्षका भए। रास्वपाबाटै कैलाली–२ बाट निर्वाचिन केपी खनाल २६ वर्षका हुन्। उनले १९ हजार ५७ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

नवलपुर–२ बाट निर्वाचित मनीष खनाल पनि २६ वर्षका भए। रास्वपाका तर्फबाट उम्मेदवार बनेका उनले ४१ हजार ३४७ मत प्राप्त गरी निर्वाचित भए।

रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर निर्वाचित हुने सुलभ खरेल पनि ३० वर्षभन्दा मुनिका युवा अनुहार हुन्। उनी हाल २८ वर्षका भए।

युवा तथा खेलकुद मन्त्री भइसकेका बब्लु गुप्ता पनि आगामी संसदका युवा अनुहार बन्नेछन्। उनले सिराहा–१ बाट ४१ हजार ३२२ मत ल्याएर निर्वाचित भएका छन्।

काठमाडौं–५ बाट निर्वाचित रास्वपाका सस्मित पोखरेल पनि युवा अनुहार नै हुन्। २९ वर्षीय पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित भएका थिए।

रास्वपाकै निशा डाँगीले पनि युवा सांसदको परिचय बनाएकी छन्। उनी दोहोर्‍याएर सांसद बनेकी हुन्। यसअघिको संसदमा पनि उनी कान्छी सांसदकै रूपमा थिइन्। २९ वर्षीय डाँगी झापा–१ बाट ४५ हजार ६८० मत ल्याएर निर्वाचित भएकी हुन्।

खोटाङ–१ बाट श्रम संस्कृति पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचित आरेन राई पनि ३० वर्ष मुनिका हुन्। २९ वर्षका उनले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्य जितेका हुन्।