
अत्तरिया –नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट डण्डीराज जोशीले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । उनी ३५ वर्ष मुनीका युवातर्फबाट क्रम संख्या १ मा उम्मेदवार बनेका हुन्।
जोशीले १५औँ महाधिवेशनलाई पार्टीको नेतृत्व चयन गर्ने अवसरसँगै आगामी दिनमा नेपाली कांग्रेसलाई कस्तो बनाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार कांग्रेसमा व्यक्ति केन्द्रितभन्दा विचार, विधि र जिम्मेवारीमा आधारित राजनीति आवश्यक छ ।

राजनीतिक शास्त्र र व्यवस्थापनशास्त्रमा स्नातकोत्तर गरेका जोशीले पार्टीमा नयाँ सोच, युवा ऊर्जा र आधुनिक व्यवस्थापनको ज्ञान भएका युवाको सहभागिता आवश्यक रहेको बताएका छन् । महाधिवेशन प्रतिनिधि लोकतान्त्रिक प्रक्रियाबाट कार्यकर्ताले छनोट गर्नुपर्ने उनको धारणा छ ।
जोशीले कांग्रेसको नीति, संगठन र नेतृत्व निर्माणमा नयाँ पुस्ताको सार्थक आवाज स्थापित गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा रहेको बताएका छन्। “अब युवा दर्शक होइन, निर्णयको साझेदार बन्नुपर्छ,” भन्ने उनको धारणा छ।
विद्यार्थी आन्दोलन तथा शैक्षिक सुधारका गतिविधिमा समेत सक्रिय रहेका जोशीले नेपाल विद्यार्थी संघको क्याम्पस कमिटीदेखि केन्द्रीय समितिसम्म विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् ।
उनले बौद्धिक तथा युवा नेतृत्व निर्माण, लोकतान्त्रिक मूल्य, स्वच्छ प्रतिस्पर्धा र संगठनात्मक सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको क्रम संख्या १ मा मतदान गरी आफूलाई विजयी गराइदिन कैलाली क्षेत्र नम्बर ४ का कांग्रेस प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार प्रतिनिधि चयनका लागि भोलि बिहान ८ बजेदेखि अत्तरिया उद्योग वाणिज्य संघको सभाहलमा मतदान हुँदै छ ।















