
अत्तरिया – नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा आर्थिक लेनदेन भएको भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले जारी गरेको प्रेस विज्ञप्तिमा गत फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कम्युनिष्ट पाटीका उम्मेदवार प्रेम आलेसँग आर्थिक लेनदेन गरेको भन्ने आरोप सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार पार्टीले फागुन ११ गते आफ्ना उम्मेदवारलाई विजयी गराउन तथा समानुपातिक मत वृद्धि गर्न निर्देशन दिएको जनाएको छ। साथै निर्वाचन परिणाम सार्वजनिक भएपछि चैत १ गते क्षेत्रीय कार्यसमिति ५ वटौ प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई परिणाम, पराजयका कारण, अनुभव, सुझाव तथा आगामी रणनीतिबारे प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिइएको जानकारी गराइएको छ।
यसैबीच, कैलाली क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नृपबहादुर शाह मनु ले धनगढीस्थित सञ्चार माध्यमसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका ५७ जना नेता कार्यकर्ताले आर्थिक लेनदेन गरी मत प्रभावित पारेको अभिव्यक्ति दिएका थिए। उक्त विषय सार्वजनिक भइसकेकाले सत्यतथ्य छानबिन गरी जिम्मेवारी निर्धारण गर्न जिल्ला कार्य समिति कैलालीले माग गरेको छ।














