
काठमाडौं – देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
दिउँसो देशभर साधारणतया बादल लाग्ने विभागको पूर्वानुमान छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
कोसी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावनाको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशको तराई भूभागका केही, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा छ ।













