चार दिनको अविरल वर्षाले २७ जनाको ज्यान लियो, चार बेपत्ता

Image
फाईल फोटो
maya metro

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।

उक्त चार दिनको अवधिमा रेकर्ड भएका ५४२ घटनामा चारजना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परी आठजना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘असोज ८–११ गतेको भारी वर्षाको स्थिति प्रतिवेदन’मा उल्लेख गरेको छ ।

nisarga

प्रतिवेदनमा उक्त अवधिमा ३०४ वटा पहिरो, ८७ वटा बाढी र १५१ वटा भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ । पहिरोका घटनामा २०, बाढीमा चार र भारी वर्षाका कारण तीनजनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

अविरल वर्षाले एक हजार ८२ परिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोले १४२ घरमा आंशिक र २२७ घरमा पूर्ण क्षति गरेको छ । बाढी र पहिरोका कारण १० वटा पुल प्रभावित भएका छन् ।

बाढी तथा पहिरोले ३१ गोठमा क्षति पुर्‍याउँदा ११४ चौपायको मृत्यु भएको छ ।