फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित

Image
maya metro

पेरिस – फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन्। युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीरुले जनाएका छन्।

मंगलबार त्यसको पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ। फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ।

nisarga

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो।साथै मंगलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन्। तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियूमा भर्ना भएका बताइएको छ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले चेतावनी दिँदै आएको छ। जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताएका थिए।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका सङ्क्रमतिहरु बढेका बताइएको छ। आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन्। फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ। फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर सङ्क्रमितहरु भने बढेका छन्।

रासस