
अत्तरिया – जल तथा मौसम विज्ञान विभागले असोज ९ गतेदेखि १२ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानसहितको मौसम बुलेटिन जारी गरेपछि कैलाली जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।
सम्भावित विपद्को अवस्थाबारे छलफल गर्न बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र त्यसअनुसार सुरक्षा सतर्कता अपनाउन स्थानीय तह, सुरक्षा निकाय तथा जिल्लावासीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली नदीको वेनीघाट, मोहना नदीलगायत प्रमुख नदीको जलस्तरसम्बन्धी सूचना नियमित रूपमा लिएर जोखिमयुक्त नदी किनार तथा बस्तीमा सूचना प्रवाह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिएका छन् । सम्भावित जोखिम देखिएमा स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यममार्फत सुरक्षित स्थानान्तरणका लागि समयमै सूचना दिने व्यवस्था मिलाइने बताइएको छ ।
सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सडक डिभिजन, हेभी इक्विपमेन्ट, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयलाई डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न भनिएको छ । सुरक्षा निकायलाई रबर बोट, मोटरबोटलगायत बाढी तथा डुबानमा प्रयोग हुने उद्धार सामग्रीसमेत तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
भारी वर्षाबाट हुनसक्ने क्षतिको पूर्वानुमान गरी राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन विपद्सँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले मनसुन प्रतिकार्य योजना, २०८३ अनुसार आफ्नो भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको रेग्मीले बताएका छन् । यसैगरी टीकापुर नगरपालिका–५ लगायत कर्णाली नदीबाट कटान भइरहेका क्षेत्रमा स्थानीय तह र सुरक्षा निकायको समन्वयमा अस्थायी कटान रोकथाम गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्धका लागि पनि सम्बन्धित स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गर्ने निर्णय गरिएको छ ।
बैठकले विपद् व्यवस्थापन, स्थानीय तहको विपद् व्यवस्थापन योजना निर्माण तथा विपद्का बेला सूचना व्यवस्थापनका लागि सूचना व्यवस्थापन अधिकृतलाई निरन्तरता दिने र त्यसका लागि जिल्लाका सबै स्थानीय तहबाट लागत साझेदारी गर्ने निर्णयसमेत गरेको छ । प्रत्येक स्थानीय तहबाट नेपाल रेडक्रस सोसाइटी कैलालीलाई एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट कैलालीमा रहेका मृतक तथा बेपत्ता व्यक्तिका पीडित परिवारलाई आवश्यक राहत सामग्री स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा रेडक्रस, सहयोगी संस्था तथा व्यक्तिहरूमार्फत वितरण गर्ने निर्णय गरिएको छ । सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबीच समन्वय र सहकार्य बढाउने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ ।
















